काठमाडौं । प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नपुग्दा बुधबारको बैठक स्थगित भएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि सामान्य छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
बुधबार उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुअघि नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकीन गर्न माग गरे ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संसद सचिवालयले गणपूरक संख्या यकीन गर्दा जम्मा ६१ जनामात्र उपस्थित रहेको पाइएको छ । बुधबार संघीय संसद सचिवालयमा हाजिर भने १६७ सांसदले गरेका थिए । संविधानतः संसदमा कुनै प्रस्ताव पारित हुन कुल सदस्य संख्याको एक चौथाइ सदस्य संख्या आवश्यक पर्छ ।
प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ रहेकाले कुनै प्रस्ताव पारित गर्न ६९ जना सांसद उपस्थित भएको हुनुपर्छ । अब अर्को बैठक वैशाख ३ गते बस्नेछ ।