यो क्षेत्रमा लागेर अझै धेरै काम गर्न बाँकी छ
नेपाली पत्रकारिता अझ विशेषतः सुदूरपश्चिम क्षेत्रमा चक्रबहादुर कुँवर सुपरिचित नाम हो । विगत करिव डेढ दशकदेखि व्यवसायिकरुपमा नै यस क्षेत्रप्रति समर्पित उहाँसँग थुप्रै छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ । रेडियोमा मार्केटरदेखि, संवाददाता, समाचारवाचक, कार्यक्रम प्रस्तोता अनि अध्यक्ष-प्रबन्ध निर्देशक तथा सञ्चारगृह सञ्चालकसम्म भइसक्नुभएको छ । सुदूरपश्चिमको छापा तथा विद्युतीय सञ्चारमाध्यमको विकास, सवद्र्धन र प्रवद्र्धनमा ठूलो योगदान छ । प्रस्तुत छ– हाल नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्ष समेत रहनुभएका कुवँरसँग गरिएको संवादः
पत्रकारिता क्षेत्रमा प्रवेश कसरी भयो ?
यो मेरो सानैदेखिको सोख र चासोको क्षेत्र हो । विद्यालयमा अध्ययन गर्दाबाटै म रेडियो नियमित सुन्ने गर्दथें । श्रोतासँग जोडिने कार्यक्रममा रेडियोका सञ्चारकर्मीसँग सम्पर्कमा रहन्थे । ७-८ कक्षा अध्ययन गर्दाबाटै दिपायलबाट प्रसारण हुने रेडियो नेपालको क्षेत्रीय प्रसारण, ग्रामीण भेगमा प्रसारण हुने (पश्चिम), एफएम लगायतसँग सम्पर्कमा रहने, प्रसारित कार्यक्रम नियमित सुन्ने गर्दथें । विद्यालय स्तरको पढाई सकिँदासम्म यो क्रम जारी रह्यो । २०६५ सालमा एसएलसी पास भएँ त्यसबीचमा नै म सञ्चारमाध्यम मुख्यतः स्थानीय रेडियो र एफएम सेवाप्रदायक संस्थासँग नजिक भएँ ।
अहिलेसम्म कुन–कुन सञ्चार माध्यममा काम गर्नुभयो ?
सुरुमा म उच्च शिक्षा अध्ययन थाल्दै गर्दा जिल्ला सदरमुकाम सिलगढीमा रहेको ‘त्रिवेणी एफएम’ का साथीहरूको सम्पर्कबाट मार्केटिङ तथा रिपोर्टिङ गर्न थालें । त्यसको छ महिनापछि समाचारवाचक-कार्यक्रम प्रस्तोता भएर काम गरें । यो क्रम एक वर्षजति चल्यो । मद्वारा सञ्चालित साप्ताहिक कार्यक्रम ‘सन्देश घरसम्म’ निकै लोकप्रिय बन्यो । अनि कार्यक्रम प्रस्तोताकै रूपमा ‘साथीसँग मनका कुरा’, ‘पश्चिमका भाषा’ (डोटेली भाषामा), ‘नौगेडी’ (डोटेली भाषामा), ‘भञ्ज्याङ चौतारी’ (नेपाली भाषामा), ‘त्रिवेणी डबली’ (नेपाली भाषामा) लगायत सञ्चालन गरें । मार्केटिङ देखि सञ्चालक समितिको कोषाध्यक्षसम्मका विभिन्न पद र जिम्मेवारीमा रही सो एफएममा मैले झण्डै चार वर्ष काम गरें । २०७२ बाट ‘फारवेस्ट मिडिया प्रा. लि.’ को तर्फबाट म आफू अध्यक्ष÷प्रबन्ध निर्देशक रहेर जिल्लामा नयाँ ‘रेडियो डोटी’ सञ्चालन गरें । पछिल्लो चरणमा म ‘सम्राई मिडिया प्रा. लि.’ को सञ्चालक र नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्ष पनि छु । अर्कातर्फ चाहे त्यो छापा सञ्चारमाध्यम होस् या विद्युतीय, केन्द्रका धेरै सञ्चारमाध्यममा पनि आबद्ध भएर थप अनुभव बटुलिरहेको छु । म रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलको उद्घोषक÷कार्यक्रम प्रस्तोता, राष्ट्रिय समाचार समितिको डोटी संवाददाता, माउण्टेन टेलिभिजनको जिल्ला संवाददाता, नेपाली रेडियो नेटवर्कको जिल्ला संवाददाता आदि भइसकेको छु । कतिमा निरन्तरता दिइहेको छु ।
अहिलेको नेपाली पत्रकारिताको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
नेपाली पत्रकारिता क्षेत्रको अहिलेको अवस्था ठिकठिकै छ । भन्नुको तात्पर्य के हो यसमा देखिएका तमाम विकृति हटाउन सकियो भने चाहिँ निकै राम्रो हुन सक्दछ । अहिले यो क्षेत्रमा जे जस्ता विकृतिहरु सतहमा आएका छन्, त्यसले मन चाहिँ अमिलो बनाउँछ । यसलाई तत्काल सुधार गर्नु आवश्यक छ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग, पत्रकार महासंघ र विभिन्न दलीय संघसंगठनहरुले यो क्षेत्रको सुद्धताको लागि हातेमालो गर्न आवश्यक छ । पत्रकारिताका न्यूनतम मुल्यलाई आत्मसाथ गर्न सकियो भने पत्रकारिता क्षेत्रका धेरै समस्या निराकरण हुन सक्दछ । यति हुँदा हुँदै पनि नेपाली पत्रकारिता क्षेत्रले नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । यसमा कार्यरत जनशक्तिलाई थप बलियो बनाउन आवश्यक तालिम दिने, समयानुकूल नीति निर्माण गर्ने र उनीहरुको पेसागत सुरक्षाका निम्ति केही काम गर्न सकियो भने झनै राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।
हाम्रो पत्रकारिताको राम्रा र नराम्रा पक्षहरू के–के हुन् ?
हाम्रा पत्रकारिताका धेरै सुन्दर पक्षहरु पनि छन् । नराम्रा पक्षहरु अलि बढी छन् कि जस्तो लाग्छ । राम्रो पक्ष भनेको नेपाली पत्रकारिताले लोकतन्त्रको पक्षमा सिर्जना गरेको सकारात्मक माहौल छ । वास्तावमा भन्ने हो भने लोकतन्त्रमा मात्रै मिडिया बलियो हुन्छ र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन सक्दछ । लोकतन्त्रको सबलताका लागि नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिका राम्रो कुरा हो । त्यससँगसंगै हाम्रो पत्रकारितामा विकृती जूनस्तरमा बढेको छ त्यो नराम्रो पक्ष हो । पत्रकारितामा साँच्चै राम्रा काम गर्नेलाई हामीले सम्मानित गर्न सकेका छैनौं, नराम्रा काम गर्नेलाई दण्ड गर्न सकिरहेका छैनौं ।
नराम्रा पक्षहरूको निराकरण कसरी गर्न सकिएला ?
पत्रकारितामा मौलाएको नराम्रा पक्षहरुको निराकरण गर्न हामी वास्तविक पत्रकारहरु एक हुन आवश्यक छ । हाम्रो हित प्रवद्र्धनमा खुलेका संघसंस्थाहरुले पनि पत्रकारिताको विकृति हटाउन काम गर्नुपर्ने अवस्था छ । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना विभागजस्ता नियमनकारी निकायले नेपाली पत्रकारिता क्षेत्रमा भएको फोहोर सफा गर्न आवश्यक भूमिका खेल्नु पर्दछ ।
यसतर्फ सम्वन्धित निकायको कत्तिको ध्यान पुगेको पाउनुभएको छ ?
यस क्षेत्रमा भएको विकृति हटाउन सम्बन्धित पक्षले दतरुकताका साथ काम गर्नुपर्ने हो । तर जति हुनु पर्ने हो त्यसरी भइरहेको छैन । छिटपुट रुपमा पत्रकार महासंघको सदस्यता सुद्धिकरणको विषय बहसमा आउने गरेको भएपनि त्यसमा सामान्य सुधारका काम समेत हुन सकेको छैन । प्रेस काउन्सिल, सूचना विभाग र पत्रकार महासंघले एकीकृत रुपमा पत्रकारिता भित्रका विकृति हटाउन नसक्नु दुखद् कुरा हो ।
तपाईं आफ्नै नजरमा कति सफल, कति असफल ?
सफल र असफल भन्ने कुरा आफ्नो सोच र चाहनामा भर पर्दछ । मैले यो पेसामा लागेर अहिलेसम्म जे जस्ता अवसरहरु प्राप्त गरेको छु, पत्रकारितामार्फत् मैले समाजमा जे जस्ता काम गरेको छु, जे जस्ता पुरस्कार र सम्मान प्राप्त गरेको छु त्यसले म सफल छु भन्ने लाग्छ । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका धेरै सम्मान, नगद पुरस्कार तथा अवार्ड सहित अभिनन्दित भएको छु । पछिल्लो समयमा ‘सर्वोत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता’को रूपमा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२१’ र ‘नेशनल क्यापिटल अवार्ड–२०२१’ पाएँ । ‘सर्वोत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता’कै हैसियतमा ‘थर्ड बोस्टर इन्टरटेनमेन्ट अवार्ड–२०२१’ बाट सम्मानित भएँ । यी तमाम कारणले म यस क्षेत्रमा सफल छु भन्ने लाग्दछ । तर, यो क्षेत्रमा मैले अझै धेरै काम गर्न बाँकी छ ।
पत्रकारिताप्रतिको सैद्धान्तिक अध्ययन–प्रशिक्षणचाहिँ कस्तो छ नि ?
मैले सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढीबाट आम सञ्चार र समाजशास्त्र विषयमा स्नातक पूरा गरेको छु । पत्रकारितासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दर्जनौं प्रशिक्षण समेत लिएको छु । र, प्रशिक्षण दिएको, दिइरहेको पनि छु ।
यस क्षेत्रको भविश्य कस्तो देख्नुभएको छ ?
पत्रकारिताको सुरुवातका दिन यसको भविश्य सोचेर यो पेसामा लागिएन । काम गर्दै जाँदा अहिले डेढ दशक भयो यही पेसाबाट म, मेरो परिवारको जीवन चलेको छ । सामाजिक प्र्तिष्ठा, महत्वपूर्ण सम्मान यही पेसाबाट प्राप्त भएको छ । यो पेसामा अहिले विद्यमान विकृति हटाउने हो भने पत्रकारिताको भविश्य नराम्रो छैन ।
अब आउने पुस्तालाई के सल्लाह दिनुहुन्छ ?
अब आउने पुस्ताले सैद्धान्तिक र व्यवहारिक ज्ञान थोरबहुत राखेर यो पेसामा आउनु पर्दछ भन्ने सल्लाह दिन चाहन्छु । यो पेसामा लामो समय काम गर्ने धैर्य हुनुपर्दछ । नआत्तिकन काम गर्न र अध्ययनशील हुन पनि जरुरी छ । अरु त पेसामा आएपछि सिक्दै जाने कुरा न हो । भनिन्छ नि, पत्रकारिता पेसा सधैं नयाँ हो र यसमा जति लामो समय काम गरेपछि सिक्न बाँकी नै रहन्छ ।