२०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोट अन्तर्गत दशरथ रङ्गशालामा भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ ले पराजित गरेको छ। नेपाल विरुद्ध दबाब बनाएर सुरुवातबाटै आक्रमक बनेको भियतनामले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो। नेपालका लागि सावित्रा भण्डारीले १ गोल फर्काएकी थिइन। ११ औँ मिनेटमा फाम हाइ एनले हेड मार्फत गोल गर्दै भियतनामका लागि सुरुवाती अग्रता दिलाएकी थिइन्। नेपाल विरुद्ध ३५ औँ मिनेटमा भियतनामले अग्रता दोब्बर बनायो। कप्तान ह्यु न्हूले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएकी थिइन्। हिराकुमारी भुजेलले भियतनामका खेलाडीले गरेको प्रहार हातमा लागेपछि भियतनामले पेनाल्टी पाएको थियो। नेपालले ३८ औँ मिनेटमा तेस्रो गोल खान पुगेको थियो। एनगुएन थि विचको प्रहार अमृता जैशीमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। दोस्रो हाफमापनि नेपाल दबाबमा रह्यो। भियतनामले ४८ औ मिनेटमा चौंथो गोल गर्न सफल भयो। उसका लागि थी लोनको क्रसमा कप्तान न्ह्युलेनै गोल गरेकी थिइन। ७९ औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि १ गोल फर्काएकी थिइन। सरु लिम्बुको पासमा सावित्राले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपनि खेलको इन्जुरी समयमा भियतनामले पाँचौ गोल थप्यो। उसका लागि एनगुएन थिले गोल गरेकी थिइन्। त्यसअघि नवौं मिनेटमा नेपालका लागि अमिषा कार्कीले राम्रो मौका गुमाइन। उनले भियतनामका डिफेन्डरको समन्वय अभावमा पाएको अवसरमा गरेको चिप क्रसबारभन्दा केहीमाथिबाट बाहिरिएको थियो। त्यसपछि पनि नेपाल खेल अवधिभर पाएका केहि राम्रा मौका चुकाएको थियो।