इतिहासमा पहिलोपटक अमेरिकाका पूर्वराष्ट्रपतिलाई अपराधको अभियुक्तका रूपमा अदालतमा हाजिर हुनुपर्यो।
न्युयोर्क ग्रान्ड जुरीले औपचारिक रूपमा अभियोग लगाएपछि डोनाल्ड ट्रम्पले मंगलबार आत्मसमर्पण गरे। ट्रम्पले अदालतमा आफूलाई निर्दोष घोषणा गरेका छन्। अब यस विषयमा अनुसन्धान अघि बढ्नेछ।
मंगलबार न्युयोर्क सहरको म्यानहट्टन क्रिमिनल कोर्ट हाउसमा ट्रम्पविरुद्ध अभियोग लगाइएको थियो। यो विषय सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित छ।
ट्रम्पले सम्भावित सेक्स स्क्यान्डल लुकाउन खोजेको बताइएको छ। ट्रम्पमाथि स्टर्मी डेनियल नामकी पोर्नस्टारलाई गोप्य रूपमा पैसा दिएको आरोप छ। ट्रम्प अमेरिकाकाे पहिलो राष्ट्रपति हुन् जसमाथि अपराधको अभियाेग लगाइएको छ।
गत हप्ता ट्रम्पविरुद्ध औपचारिक रूपमा आरोप दायर गरिएको थियो। ट्रम्पविरुद्ध ३४ गम्भीर अपराधका मुद्दामा अभियोग लगाइएको छ।
यसलाई ‘३४ फेलोनी चार्ज’ पनि भनिन्छ। ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि स्टर्मी डेनियललाई एक लाख ३० हजार डलर दिएको आरोप छ। ट्रम्पले २००६ को प्रेम सम्बन्ध लुकाउन पैसा दिएको बताइएको छ।
म्यानहट्टन जिल्ला न्यायाधीवक्ता एल्भिन ब्रागले अदालतको सुनुवाइपछि पत्रकार सम्मेलनमा ट्रम्पविरुद्धको आरोप न्यूयोर्कको चुनावी नियमहरूको उल्लंघनसँग सम्बन्धित भएको बताए।
यदि ट्रम्प यस मामिलामा दोषी ठहरिएमा उनलाई जेल सजाय पनि हुनसक्ने ब्रागको भनाइ छ।
के ट्रम्प विरुद्ध ३४ विभिन्न आपराधिक मुद्दाहरूको फैसला हुनेछ?
हुनेछैन। यो संख्याले ट्रम्पविरुद्ध कथित अनुपयुक्त व्यवहारको व्यक्तिगत घटनाहरूलाई जनाउँछ, ३४ प्रकारका अपराधहरूलाई होइन। ट्रम्पका वकिल माइकल काेहेनले स्टर्मी डेनियललाई एक लाख ३० हजार डलर भुक्तानी दिएका थिए।
चुनावपछि ट्रम्पले यो पैसा आफ्नो वकिललाई दिएका थिए। ट्रम्प विरुद्धको औपचारिक आरोपमा ट्रम्पको संगठनमा यो भुक्तानीको प्रवेश गलत तरिकाले भएको उल्लेख छ।
यदि ट्रम्प यस मामिलामा दोषी पाइएमा उनलाई चार वर्षसम्मको सजाय हुनसक्छ।
वासिंगटन पोस्टको रिपोर्ट अनुसार यस मामलामा जेल सजाय अनिवार्य छैन। पूर्वराष्ट्रपति र २०२४ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी दोषी ठहर भइसकेपछि जेल जाने वा नपर्ने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
अदालतमा केके भयाे?
ट्रम्प भीडलाई छिचाेल्दै अदालतको भित्र रक्षा पक्षको टेबलमा बसिरहेका थिए। ट्रम्पको छेउमा उनका वकिलहरू थिए। सुनुवाइको सम्पूर्ण अवधिमा उनले अदालतमा हात बाँधेर बसेका थिए। ट्रम्पले अदालतमा एक पटक मात्र आफूलाई निर्दोष घोषणा गरे।
न्यायाधीशले ट्रम्पलाई सुनुवाइमा बाधा पुर्याउने प्रयास गरेमा उनलाई अदालतबाट बाहिर निकालिने चेतावनी पनि दिएका थिए। अदालतबाट बाहिरिएपछि पनि ट्रम्प मौन रहे।
ट्रम्पका वकिल टोड ब्लान्चेले भने, ‘सुनवाइको क्रममा ट्रम्प पक्कै निराश देखिन्थे। उनी विश्वास गर्छन् कि उनीसँग अदालतमा अनुचित व्यवहार गरिएको थियो।’
अदालतमा हाजिर हुनुअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा भनेका थिए कि यो त्यो अमेरिका होइन, जसका लागि यो परिचित छ।
अदालतपछि समर्थकहरूसँग ट्रम्प…
म्यानहट्टनपछि ट्रम्प राति फ्लोरिडास्थित आफ्नो घर पुगे र त्यहाँ आफ्ना समर्थकहरूलाई सम्बोधन गरे।
ट्रम्पले आफ्नो सम्बोधनमा आफूविरुद्धको अनुसन्धान राजनीतिक रूपमा प्रेरित भएको बताए। ट्रम्पको कुरा सुन्न उनका सयौँ समर्थक जम्मा भएका थिए। ट्रम्पले जिल्ला न्यायधीवक्ता एल्विन ब्राग र न्यायाधीश परिवारलाई पनि निशाना बनाएका थिए।
उनले आफूले निडर भएर आफ्नो देशको रक्षा गरेको र यो उनको अपराध भएको बताए। ट्रम्पले भनेका छन्, ‘अमेरिका उँधाेतिर गइरहेको छ।’
जिल्ला न्यायाधीवक्ता एल्भिन ब्रागले पनि गत हप्ता ट्रम्प विरुद्धको आरोप स्वीकार गरेपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका थिए।
पत्रकार सम्मेलनमा ब्रागले मुद्दा नियम अनुसार चल्ने र अभियुक्त को हो भन्ने फरक नपर्ने बताए।
‘हामी गम्भीर आपराधिक आचरणलाई सामान्य बनाउन सक्दैनौँ र गर्दैनौँ,’ ब्रागले भने।
ब्रागलाई पत्रकार सम्मेलनमा सोधिएको थियो- उनले अहिले यो कुरा किन उठाइरहेका छन्? यो समय राजनीतिक होइन र? यस प्रश्नको जवाफमा जिल्ला सरकारी वकिलले आफ्नो कार्यालयबाट थप प्रमाण प्राप्त भएको बताए।
मंगलबार न्यायाधीशले ट्रम्पलाई अदालतको बाहिर चुपचाप बस्न आदेश दिएनन् तर कानुन र व्यवस्थाको स्थितिलाई खलल पार्ने कुनै पनि कुरा नगर्न चेतावनी भने दिए। यही कारणले २०२४ को राष्ट्रपतीय चुनावमा ट्रम्पले धेरै कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ। रिपब्लिकन पार्टीभित्रबाट पनि ट्रम्पविरुद्धको अनुसन्धान राजनीतिक रूपमा प्रेरित भएको आवाज उठिरहेको छ।
पोर्नोग्राफिक अभिनेत्री स्टर्मी डेनियल विरुद्ध आरोप
डेनियलले सन् २००६ को सुरुमा ट्रम्पसँग उनको अफेयर भएको बताइन्। यद्यपि ट्रम्पले अहिलेसम्म यसलाई अस्वीकार गर्दै आएका छन्।
क्यालिफोर्निया र नेभाडाको बीचमा रहेको लेक टोहोय होटलमा सन् २००६ मा ट्रम्पलाई भेटेको डेनियलले दाबी गरेकी छन्। त्यतिबेला ट्रम्प व्यापारी थिए। २०११ मा डेनियलले इनटच पत्रिकालाई एक अन्तर्वार्ता दिएकी थिइन् (जुन यस वर्ष जनवरीमा प्रकाशित भएको थियो) जसमा उनले दाबी गरेकी छन् कि ट्रम्पले उनलाई डिनरमा निम्तो दिएका थिए। निम्तापछि उनी ट्रम्पको होटल कोठामा भेट्न आएकी थिइन्।
उनका अनुसार ट्रम्प सोफामा क्रस खुट्टा राखेर बसिरहेका थिए र सम्भवतः टेलिभिजन हेरिरहेका थिए। उनले पाइजामा लगाएका थिए।
डेनियलले होटलमा ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गरेकी छिन् । यद्यपि उनको दाबीमा ट्रम्पका निजी वकिलले ट्रम्पले यी आरोप अस्वीकार गरेको बताउँदै आएका छन्।
-बिबिसीबाट साभार