तीन महिनाअघि फ्रान्स पुगेकी सानुमायाकाे रहस्यमय मृत्यु फ्रान्समा एक नेपाली महिलाको मृत्युको घटना रहस्यमय भएको छ । राजधानी पेरिसनजिकको ला कुर्नभ भन्ने स्थानमा ३ असोजमा मृत अवस्थामा भेटिएकी सानुमाया श्रेष्ठको मृत्युको कारण पहिचान हुन सकेको छैन । साथै, उनको परिवारका सदस्यहरूसँग पनि सम्पर्क हुन नसकेको फ्रान्सस्थित नेपालीहरूले बताएका छन् ।
२५ वर्षीया सानुमायाको राहदानीमा नेपालको ठेगाना भने सर्लाही उल्लेख गरिएको छ । घटना भएको १० दिन भइसक्दा पनि फ्रान्सस्थित नेपाली सोसाइटीले परिवारका सदस्यहरूको पहिचान गर्न सकेको छैन ।
अहिलेसम्म परिवारका सदस्यहरूसँग सम्पर्क हुन नसक्दा उनको शव व्यवस्थापनमा पनि समस्या भएको बताइएको छ । श्रेष्ठको माइती सर्लाही र श्रीमानकाे घर मकवानपुर भनिए पनि थप विवरण भने खुलेको छैन । श्रेष्ठको परिवारका सदस्यसमेत पहिचान हुन नसक्दा समस्या भएको फ्रान्सबाट लेखक अनुराधा पौडेलले जानकारी दिइन् ।
शिलापत्रसँगको कुराकानीमा पौडेलले श्रेष्ठको मृत्युको विषयमा विभिन्न हल्लाहरू फैलिएको तर परिवार पहिचान नभएका कारण फ्रान्सको प्रहरीसँग सोधखोज गर्न पनि समस्या भएको बताइन् । उनले भनिन्, ‘कोही झुन्डेर मरिन् भन्छन्, कोही बलात्कार भयो अनि झुन्डाएर मारियो भन्छन् । विभिन्न खालका हल्लाहरूमात्रै भइरहेको छ । हामीलाई परिवारको अनुमति नभइकन प्रहरीसँग सोधखोज गर्ने अनुमति हुँदैन ।’
३ असोजमा बिहान डेरा अगाडि रुखमा झुण्डिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो । खादाको पासो लगाएको अवस्थामा श्रेष्ठको शव भेटिएको बताइएको छ ।
पौडेल भन्छिन्, ‘खादाको पासो लगाएर आत्महत्या गरेको कसैले पनि पत्याएका छैनन् । खास कारण केही पनि खुलेको छैन ।’ श्रेष्ठ फ्रान्स गएको करिब ३ महिना भएको थियो । उनी त्यसअघि पोर्चुगलमा रहेको पनि बताइएको छ । फ्रान्स आए पनि उनले फ्रान्समा बसोबासका लागि अनुमति भने पाएकी थिइनन् ।
सर्लाही घर भएकी श्रेष्ठको परिवार पहिचान गर्न समस्या भएका कारण फ्रान्सस्थित नेपाली सोसाइटीले उनको शव व्यवस्थापनमा केही पनि गर्न नसकेको पौडेलको भनाइ छ ।