काठमाडौं । राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले संघीयता र गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाई थियो।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दावी समेत गरे।
‘मुलुकमा विद्यमान हरेक चुनौतीबाट पार पाउन सम्भव भएसम्म राष्ट्रिय सहमति कायम गर्न सक्नु पर्दछ। यो नै राजनीतिमा देखा परेको एउटा विशिष्ट अवस्था हो । कमसेकम २०७२ सालको संविधान, यस संविधानले निर्दिष्ट गरेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक समावेशीता पक्षधरहरुबीचको राष्ट्रिय सहमति नै देशमा देखा परेको आर्थिक जटिलता अन्त्य, शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने तथा विकास र समृद्धिलाई जनअपेक्षित गर्न यो एक मात्रै अष्त्र हो भन्ने लाग्छ । उनले भने।
सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए।