काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।
उनीहरुबीच मंगलबार काठमाडौं महानगरपालिकाको भवनमा भेटवार्ता भएको हो। मेयर साम्पाङ र शाहबीच केही समय पहिले सामाजिक सञ्जालमा विवादसमेत भएको थियो। यसकै कारण यसअघि साम्पाङ काठमाडौँ आए पनि शाहसँग भने भेट नगरी फर्किएका थिए।
श्रममा विश्वास गर्ने मेयर साम्पाङले काठमाडौँका मेयर शाहले केही गर्न सकेनन् भन्ने अभिव्यक्ति दिएपछि उनीहरुबिच विदाद चर्किएको थियो। सामाजिक सञ्जालमा कहिल्यै नमिल्ने मेयर भनेर चिनिने गरेकोमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको मेयर साम्पाङले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै बताएका हुन्।
मेयर साम्पाङ अहिले काठमाडौंमा छन् । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका थिए। उनले आजै शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री गुरुङलाई भेटेर आवश्यकताको सूची बुझाएको पनि साम्पाङले फेसबुकमा लेखेका छन् ।
उनले धरानमा आफ्नै नेतृत्वमा भएको श्रमदान सम्झिरहेको सामाजिक सञ्जालमा बताएका छन्। उनले भनेका छन्,‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन, आइ मिस पाइप पुलिङ एण्ड स्टोन क्यारिङ।’