काठमाडौँ – मिटरब्याज पीडितको दोस्रो टोलीले काठमाडौँमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेको छ। देशभरका विभिन्न जिल्लाबाट मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरुले सिंहदरबारअगाडि कार्यक्रम गरेका थिए।
यसअघि शनिबार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार सरकारले सोमबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोगसमेत गठन गरेको छ। सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।
सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौँ आएर आन्दोलन सुरु गरेको छ।