काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई तोकेको स्थानबाट पोशाक खरिद गर्न बाध्य नपार्न संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।
शुक्रबार महानगरपालिकाले संस्थागत विद्यालयलहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । ‘संस्थागत विद्यालयहरु आफैंले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउन अनुरोध छ’ परिपत्रमा भनिएको छ ।
महानगरपालिकाले संस्थागत विद्यालयहरुले विद्यार्थी, अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो आएको जनाएको छ । महानगरले अब यस्तो भेटिएमा कारबाही गर्ने भन्दै कारबाहीको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने बताएको छ ।