काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नेपाली उत्पादन प्रयोगमा जोड दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।
सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कान्छी सांसदसमेत रहेकी डाँगीले नेपालमा विदेशी वस्तुको आयात बढेको भन्दै स्वदेशी उत्पादनमा जोड दिएकी हुन्।
उनले आफू सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? भन्दै प्रश्न गरेकी छन्। ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ? ती कुराहरु अंकमा देखिने गरी किन लागू भएनन? समिक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद डाँगीले भनिन्, ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमा नै बनेको हो ? कुर्सीका लागि जुन झगडा हुने गरेको छ। प्रधानमन्त्री सभामुखको कुर्सी, त्यो कुन देशबाट आयात भएको हो? सभामुख महोदय, सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं।
यहाँ प्रयोग हुने कुर्सीदेखि माईकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’