पोखरा – घरघरै वितरण गरिएको खानेपानी पिउन नमिल्ने गरेर दुर्गन्धित बन्यो। धेरै दिनसम्म पानीमा दुर्गन्ध हटेन। पृथ्वीराजमार्ग विस्तारको क्रममा ठाउँ–ठाउँमा पाइप काटिएकाले पानी धमिलो र दुर्गन्धित भएको अनुमान उपभोक्ता समितिको थियो।
१३८ घरधुरीमा बाँडिएको खानेपानीबारे निकै गुनासो आएपछि उपभोक्ता समितिले खानेपानीको ट्यांकी खोलेर हेर्दा ट्यांकीभित्र महिलाको शव फेला पर्यो। शव क्षतविक्षत र किरा परेको थियो।
सोमबार तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पिपलटार खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकीभित्र फेला परेको उक्त शव थियो कास्कीको पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको।
उनी फागुन २१ गतेदेखि परिवारको सम्पर्कमा थिइनन्। शव फेला परेको भोलिपल्ट उनका आफन्तले शवको पहिचान गरे। हातमा भएको खतले आफन्तले पहिचान गरे।
काभ्रेको पाँचखाल नगरपालिका–५ स्थायी ठेगाना भएकी शान्ति छोराछोरीसहित बाघमारामा बस्दै आएकी थिइन्। श्रीमान् बितेपछि ५ वर्षअगाडि माइतीको शरणमा आएकी उनी पछिल्लो समय पोखराको अमरसिंहचोकमा फलफूल व्यापार गर्थिन्।
शान्तिको हत्या गरेर खानेपानी ट्यांकीभित्र शव फालेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टले बताए। हत्याको आरोपमा काभ्रेको पाँचखाल–५ घर भई पोखराको घारीपाटन बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरेको उनले जानकारी दिए। उनलाई तनहुँको थप्रेकबाट प्रहरीले पक्राउ गरेको हो।
सुनारले सापटी दिएको रकम फिर्ता नगरेपछि हत्या गरेको खुलेको विष्टले बताए। उनले भने, ‘१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिँदा सुनारले हत्या गरेको खुलेको छ। हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल लुटिएको छ।’
हत्यापछि सुनारले श्रेष्ठले लगाएको गहना पोखराको महेन्द्रपुलमा सञ्चालित रजनी सुनचाँदी पसलमा लगेर विक्री गरेका थिए। हत्यापछि लुटेको गहना खरिद गर्ने सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। ‘टेक्निकलदेखि लिएर सबै भौतिक प्रमाण हाम्ले संकलन गरिसकेको र अझ गर्ने क्रममा रहेका छौं। यी सबै तथ्य प्रमाणबाट चित्र भनिने प्रकाश सुनरले कर्तव्य गरी मारेको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ’, उनले भने।
मृतक शान्ति श्रेष्ठ र हत्या आरोपमा पक्राउ परेको प्रकाश सुनारको २ वर्षअगाडि चिनजान भएको थियो। बाघमारा बस्ने शान्ति पोखराको अमरसिंह चोकमा फलफूल व्यापार गर्थिन्।
सवारी चालक सुनार फलफुल लगायतका खाद्यन्न सामाग्री ढुवानीको काम गर्थे। सोही क्रममा यी दुईबीच भेटघाट र चिनजान भयो। भेटभाट बाक्लिँदै गएपछि सम्बन्ध घनिष्ट बन्यो। सुख दुःखमा लेनदेनसमेत हुन थाल्यो।
पछिल्लो समय शान्तिले प्रकाशसँग २ महिनाअगाडि छोराको उपचारका लागि भनेर १० हजार रुपैयाँ सापट लिएको खुलेको प्रहरीले जनाएको छ। प्रकाशले सापट फिर्ता माग्दा दिन सकिनन्। ‘छोरा बिरामी भएकाले अहिले दिन नसक्ने भन्दै इन्कार गरिन्। रकम फिर्ता नदिएपछि सम्बन्धमा खटपट सिर्जना भयो’, प्रहरी उपरीक्षक विष्टले बिहीबार पत्रकार भेटघाटमा भने।
पैसा दिने भनेर श्रेष्ठले सुनारलाई फागुुन २१ गते खैरेनीटार लगेकी थिइन्। जुन दिनदेखि उनी बेपत्ता भएकी थिइन्। खैरेनीटारमै विवाद भएपछि सुनारले इँटा प्रहार गरेर हत्या गरेको खुलेको प्रहरी उपरीक्षक विष्टले बताए। शान्तिको परिवारले भने चैत ६ गते मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजतलासका लागि निवेदन दिएका थिए।