काठमाडाैं । सरकार विस्तारको अन्तिम तयारीमा पुग्दा पनि अझै केही मिलाउन बाँकी रहेको बाध्यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसमक्ष राखेका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्ने तयारीस्वरूप राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका प्रचण्डले निरन्तर प्रयास गर्दा पनि केही विषय मिलाउन गाह्रो परिरहेको बाध्यता सुनाएका हुन् ।
‘प्रधानमन्त्री भेट्न आउँदा नियुक्त हुने मन्त्रीहरूको सूची लिएर आउनुहुन्छ कि भन्ने लागेको थियो । तर उहाँले अझै केही विषय मिलाउन बाँकी रहेको बाध्यता राष्ट्रपतिलाई सुनाउनुभयो’, राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘मन्त्रालय बाँडफाँटमा केही मिलाउन बाँकी रहेकोले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तर अहिले नै नाम दिन नसकिएको भन्दै उहाँ शीतलनिवासबाट बाहिरिनुभएको हो ।’ तर प्रधानमन्त्री कार्यालयले दिउँसो ३ बजेलाई शपथको कार्यक्रम राख्न राष्ट्रपति कार्यालयलाई खबर भने गरिसकेको शीतलनिवास स्रोतले बतायो ।
राष्ट्रपति कार्यालयबाट फर्किएपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा लिएर सरकारमा जाने र प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बताइएको छ ।
तर खड्काले अर्थमा महतलाई रोकेर आफैं जानेसम्मको अडान लिएको बुझिएको छ । यसैले प्रधानमन्त्रीले नै देउवा र खड्कासँग छलफल गरिरहेको बुझिएको छ ।