काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारमा जान नेपाली कांग्रेसका तर्फबाट मन्त्री बन्नेहरुको अन्तिम सूची तयार भएको छ।
रक्षा मन्त्रालयमा आनाकानी गर्दै बिहीबारको शपथग्रहण रोकेका कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्काले अन्तत: उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालय लिन ग्रिन सिग्नल दिएका छन्।
कांग्रेसबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी रमेश रिजालले पाउने भएका छन् भने धनराज गुरुङले सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन्।
परराष्ट्र मन्त्रालयमा कसलाई पठाउने भन्ने टुंगो नलाग्दा र उपाध्यक्ष पूर्णबहादुर खड्काले रक्षामा जान आनाकानी गर्दा मन्त्रीहरुको अन्तिम सूची तयार हुन सकेको थिएन।
त्यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी एनपी साउदले सम्हाल्ने भएका छन् भने भूमि व्यवस्था मन्त्रालयको कार्यभार सीता गुरुङले पाउने भएकी छन्। न्याय, कानुन तथा संसदीय मामिला मन्त्रालय डिगबहादुर लिम्बुले हाँक्ने सहमति बनेको छ भने डा. प्रकाशशरण महतले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार मोहनबहादुर बस्नेतले सम्हाल्ने सहमति भएको कांग्रेस स्रोतले जानकारी दिएको छ।