काठमाडाैं । कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले आज पुन: विश्वासको मत लिने भएका छन्।
शुक्रबार दिउँसो ३ बजे मुख्यमन्त्रीले प्रदेश सभाबाट पुनः विश्वासको मत लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन लागेका हुन्। कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो।
विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेश गर्ने वातावरण मिलाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार संसद सचिवालयलाई पत्र पठाएको थियो। यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले पहिलोपटक संसदबाट विश्वासको मत पाएका थिए। त्यतिबेला राप्रपासहितका २५ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए।