विराटनगर । बेलबारी नगरपालिका–२, लालभित्तीमा पर्छ पदम लिम्बुको घर । यही चैत ५ गते विराटनगरमा भएको पहिचानको आन्दोलनका क्रममा घाइते उनको मृत्यु भएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । लालभित्तीस्थित पदमको घरमा मानिसहरुको आउजाउ बाक्लिएको छ । उनीहरुले सोध्ने अनेकखाले प्रश्न र राख्ने प्रस्तावले परिवारमा शोकमाथि तनाव थपिएका छ ।
‘बुबाआमाले एक्लो छोरो र हामीले माइती गुमाएका छौं’, पदमकी बहिनी पवित्राले भनिन्, ‘त्यसमाथि दिनदिनै मानिसहरु आएर के-के भन्छन् के-के । जसले जे भनेपनि दाजुलाई शहीद घोषणा नगरे हामी मान्दैनौं, शव पनि बुझ्दैनौं ।’ घरमा आउने सबैलाई लिम्बु परिवारको एउटै भनाइ छ– सरकारले शहीद घोषणा गर्नुपर्छ र पदमको छोराको भविष्यको जिम्मेवारी लिनुपर्छ ।