काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टिमलाई ठूलो झड्का लागेको छ। नेपाललाई फरवार्ड अन्जन विष्टको रूपमा झड्का लागेको हो। उनले फाइनल खेल गुमाउने पक्का भएको हो।
अन्जन प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँगको खेलका क्रममा घाइते भएका थिए। भुटानका गोलरक्षक छिरिङ धेन्दुपसँग जुध्न पुग्दा अन्जन घाइते बनेका थिए। अन्जनको ढाडमा चोट लागेको थियो। अन्जनलाई ब्लु क्रस अस्पतालको इमर्जेन्सीमा लागिएको थियो। त्यहाँ प्रारम्भिक परीक्षण र एक्सरे गर्दा उनको ढाडमा गम्भीर समस्या नदेखिएको बताइएको छ। तर, चिकित्सकले अन्जनलाई विश्राम लिन सुझाव दिएका छन्।
यसअघि पनि अनुहारको चोटका कारण उनले लाओससँगको पहिलो खेल गुमाएका थिए। नेपालले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको हो। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औँ मिनेटमा हेडबाट गोल गर्दै फाइनल यात्रा तय गराएका हुन्।
नेपालका लागि दीपकराजको यो डेब्यू गोल पनि हो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ठकुरीको निर्णायक गोल भुटानलाई घर फर्काउन पर्याप्त भयो। यससँगै नेपालले भुटानविरुद्ध लगातार १३ खेलमा अपराजयको यात्रा कायमै राखेको छ। खेलको १९औँ मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५औँ मिनेटमा पुजन उपरकोटीको पासमा सनिस श्रेष्ठको हेडर आकाशियो। खेलको ४६औं मिनेटमा अन्जन विष्टको हेडर भुटानका गोलरक्षले उत्कृष्ट बचाउ गरे।
खेलको ५०औं मिनेटमा अन्जनको स्थानमा दीपकराज सिंह ठकुरी मैदान छिरे। ७० औँ मिनेटमा दिपकको प्रहार पोष्टको माथिबाट बाहिरिँदा नेपालले बराबरीको मौका गुमायो। ७८ औं मिनेटमा मनिष डाँगीको प्रहार सेकेण्ड बारबाट बाहिरियो। खेलको ९०औँ मिनेटमा अनन्त तामाङको पासमा दीपकले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका दीपकको गोलसँगै नेपाल हारबाट जोगिएको हो।