विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन्।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उनीहरुले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। सभापतिका लागि नेविसंघबाट जसवन्त पौडेल, अनेरस्ववियुबाट नविन पहाडी, अखिल क्रान्तिकारीबाट रोहित यादव र विद्यार्थी जनमत संघबाट आनन्दकुमार साहले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै सचिवमा ६ जनाको उम्मेदवारी परेको क्याम्पसको निर्वाचन समितिले जनाएको छ।
क्याम्पसका निर्वाचन समितिका अनुसार नेवि संघबाट पूजा विश्वास, अनेरास्ववियुबाट सनिम ठकुरी, अखिल (क्रान्तिकारी) बाट आशिका लम्साल, नेकपा (एस) पार्टी निकट अनेरास्ववियूबाट निर्मल भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघबाट पेशल यादव, विद्यार्थी जनमत संघबाट सरोज साहूको सचिवमा मनोनयन दर्ता भएको छ।
यस्तै, कोषाध्यक्षमा नेविसंघबाट स्वस्तिक बोहरा, अनेरास्ववियु आरोग्य थापा, अनेरास्ववियूबाट रोहित गौतम, समाजवादी विद्यार्थी युनियनबाट राकेशकुमार यादव, विद्यार्थी जनमत संघबाट अनिशाकुमारी मोचीको उम्मेदवारी रहेको छ। समानुपातिकबाट १० जना छनोट हुने निर्वाचन समितिले जनाएको छ। प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन पदाधिकारी र आठ सदस्यीयको लागि निर्वाचन हुनेछ।