काठमाडौँ– बिहीबार हुने राष्ट्रपति चुनावको तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ। नेपालको तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा मतदान हुँदैछ। चुनावमा सत्ता पक्षीय आठ दलले रामचन्द्र पौडेल र एमालेले सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ।
राष्ट्रपति चुयनका लागि संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ। यसअनुसार संघीय संसदका ३३४ जना र प्रदेशसभा सदस्य ५५० गरी ८८४ जना मतदाता हुनेछ।
प्रतिनिधिसभाका रवि लामिछानेको सांसद पद गुमेको र टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका कारण संघीय संसदका ३३२ जनाले मात्रै राष्ट्रपति चुनावमा भाग लिन पाउँछन्। प्रदेशसभा तर्फ भने सबै सदस्यले मत दिन पाउने भएका छन्।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनले संघीय संसद (प्रतिनिधिसभा र प्रदेशसभा)का सदस्य र प्रदेशसभा सदस्यको मतभार फरक फरक हुने व्यवस्था गरेको छ।
देशको पछिल्लो राष्ट्रिय जनगणनाका आधारमा मतभार निर्धारण हुने कानुनी व्यवस्था भए पनि निर्वाचन आयोगले २०७८ सालमा भएको जनगणनाको अन्तिम परिणाम राष्ट्रिय तथ्यांक विभागबाट आइनसकको भन्दै पुरानै मतभारका आधारमा चुनाव गराउने निर्णय लिएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।
यसले गर्दा यसपटकको राष्ट्रपति चुनावमा प्रदेशसभा सदस्यको भतभार ४८ र संघीय संसदका सदस्यको मतभार ७९ नै हुने गरी निर्वाचन प्रक्रिया अघि बढेको छ। यो २०६८ सालमा भएको जनगणनामा आधारित हो। राष्ट्रपतिमा निर्वाचित हुन निर्वाचक मण्डलमा तत्काल कायम रहेको मतको बहुमत ल्याउनुपर्ने व्यवस्था राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ ले गरेको छ।
उक्त ऐनको दफा ५५ (२)मा भनिएको छ, ‘कुनै उम्मेदवारले प्राप्त गरेको कूल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नु पर्नेछ।’
यदि पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा चुनाव गर्नुपर्ने हुन्छ। बिहीबार हुने मतदानमा संघीय संसदतर्फका ३३२ जना सांसदको २६ हजार २२८ र प्रदेशसभातर्फका ५५० जना सांसदको २६ हजार ४ सय गरी जम्मा ५२ हजार ६२८ मतभार छ। चुनाव जित्नका लागि २६ हजार ३१५ मतभार प्राप्त गर्नुपर्ने हुन्छ।
कुन दलको कति छ मतभार?
कांग्रेसः राष्ट्रपति उपराष्ट्रपति चुनावमा कांग्रेससँग १६ हजार १४२ मतभार छ। कांग्रेससँग प्रतिनिधिसभामा ८८ र राष्ट्रियसभामा १० गरी संघीय संसदमा ९८ जना सांसद मत दिन योग्य छन् भने प्रदेशसभा तर्फ १७५ जना सांसद छन्। कांग्रेसका टेबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेका कारण चुनावमा भाग लिन पाउँदैनन्।
एमालेः एमालेका संघीय संसदका ९६ जना मत दिन योग्य छन्। प्रदेशसभा तर्फ १६२ जना सांसद एमालेका छन्। जसले गर्दा एमालेसँग १५ हजार ३६० मतभार छ।
माओवादी केन्द्रः माओवादीको संघीय संसदमा ४७ जना सांसद छन् भने प्रदेशसभामा ८२ छन्। माओवादीको मतभार ७ हजार ६४९ छ। राष्ट्रपति र उपराष्ट्रपति चुनावमा माओवादी निर्णायक शक्ति हो।
एकीकृत समाजवादी? एकीकृत समाजवादीको संघीय संसदमा १८ जना र प्रदेशसभामा २४ जना सांसद छन्। समाजवादीको यो चुनावमा २५७४ मतभार छ।
राप्रपाः राप्रपासँग संघीय संसदमा १४ र प्रदेशसभामा २८ जना सांसद छन्। राष्ट्रपति चुनावमा मत हाल्ने नहाल्ने निर्णय नगरिसकेको राप्रपाको २४५० मतभार छ।
जसपाः जसपाको राष्ट्रपति चुनावमा २१४५ मतभार छ। जससँग संघीय संसदमा १५ र प्रदेशसभामा २० जना सांसद छन्।
स्वतन्त्र पार्टीः प्रतिनिधिसभामा १९ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग १५०१ मतभार छ।
राष्ट्रपति उपराष्ट्रपति चुनावमा जनमत पार्टीको १२४२, लोसपाको ९७१, नागरिक उन्मुक्ति ८१३ मतभार छ। त्यस्तै जनमोर्चाको २०६, नेमकिपाको २२३, हाम्रो नेपाली पार्टीको ९६, र संघीय समाजवादीको ४८ मतभार छ। त्यसैगरी संघीय संसदमा चार जना स्वतन्त्र सांसदहरु पनि छन्।