काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा राजनीतिक स्वार्थ प्रेरितहरूले राष्ट्रपति पदको मर्यादा नराखी ‘बकबास’ गर्ने गरेको टिप्पणी गरेका छन्।
राष्ट्रपति कार्यकालको आखिरी दिनमा रहेकी भण्डारी एमाले नेतृत्वको सरकार हुँदा सहयोगी रहने तर इतरपार्टीहरुको सरकार हुँदा भने असहयोगी रहेको टिप्पणी भइरहँदा ओलीले उनको बचाउ गरेका हुन्।
११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेनिकट अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा, संक्रिण छुद्र स्वार्थ पूर्ण नहुँदा, राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकबास गरेका हुन सक्छन्,’ ओलीले भने,‘ ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नु पर्दछ किनकी विद्या भण्डारीजस्तो महिला नेतृ तपाईंहरुको आन्दोलनबाट हुर्केर गएको हो।’ अनेमा संघले महिला मुक्ति नामको पुस्तक पनि सार्वजनिक गरेको छ। उक्त पुस्तक राष्ट्रपति भण्डारीमाथिको विशेषांक रहेको छ।