काठमाडौं । अघिल्लो वर्ष मछिन्द्र फुटबल क्लबमा रहेका ए डिभिजन लिग जितेका सुनिल बल यो वर्षको ए डिभिजन लिगको पहिलो चरण सकिँदै विदेशीएका छन्। धेरै नेपाली खेलाडीजस्तै अब सुनिल पनि आज अष्ट्रेलिया जान लागेका हुन्।
यसअघि पनि नेपालका ३५ भन्दा धेरै फुटबल खलाडी विदेशीएका छन्। अघिल्लो वर्षको ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका विशाल राई, अभिषेक रिजाल, सुमन अर्याल, सन्तोष तामाङ, आशिष राई लगायत दर्जनौ नेपाली खेलाडी यो वर्षको लिगमा छैनन्।
अघिल्लो सिजनमा गोलकिपर पछि सबैभन्दा धेरै समय मैदानमा विताउने खेलाडी हुन् सुनिल बल। उनले मछिन्द्रका उत्कृट फरवार्ड विमल घर्ति मगर, मनिष डाँगीभन्दा धेरै समय मैदानमा विताएका थिए।
तर यो वर्ष उनी मछिन्द्र छोडेर संकटा क्लब पुगेका थिए। संकटाले आफ्नो पहिलो खेलमा उपाधि दावेदार त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो। त्यो खेलमा सुनिलले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए।
तर, लिगको बाँकी खेलमा उनी हुनेछैनन्। यो वर्ष धेरै क्लबहरुका उत्कृष्ट र अनुभवी खेलाडी अष्ट्रेलिया गएको कारण क्लबहरुले नयाँ तथा युवा खेलाडीलाई राखेर टिम बनाएको छ।
नेपालमा खेलाडीको संख्या कम भएपछि लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले पनि विदेशी खेलाडीको कोटा थपेको थियो।