ललितपुर । स्मार्ट सहर बनाउने अभियानमा लागेको ललितपुर महानगरपालिका क्षेत्रका ऐतिहासिक सम्पदा क्षेत्रवरपर टाँगिएका टेलिफोन, केबल र इन्टरनेटका अस्तव्यस्ततालाई व्यवस्थित गर्न थालिएको छ ।
महानगरपालिका इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनसँग छलफल गरी १० दिनभित्र सम्पदा क्षेत्रवरपर टाँगिएका तार व्यवस्थापन गर्न मङ्गलबार निर्देशन दिइएपछि बुधबारदेखि तार व्यवस्थापन थालिएको हो । इन्टरनेट प्रदायकले पुल्चोकको अशोक स्तम्भअगाडि टाँगिएका तारलाई व्यवस्थापन थालेको हो । महानगरपालिकाले दिएको समयसीमाभित्र तारहरू व्यवस्थापन नगरिएमा महानगरपालिकाले नै तार काट्न सुरु गर्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
महानगरपालिकाले पहिलो चरणमा पुल्चोकको अशोक स्तम्भवरपर, कुम्भेश्वर मन्दिर क्षेत्र र पाटन दरबार स्क्वायर क्षेत्रवरपरको तारलाई व्यवस्थित गर्ने योजना बनाएको छ । ऐतिहासिक सम्पदा क्षेत्रमा टाँगिएका तार व्यवस्थापन गरेपछि क्रमशः सहरका अन्य क्षेत्रका तारलाई पनि व्यवस्थित गरी ऐतिहासिक सम्पदायुक्त सहरको सौन्दर्यलाई कायम गर्नुको साथै सम्भावित आगलागीको जोखिमबाट जोगाइने महानगरपालिका प्रमुख महर्जनको भनाइ छ ।