सिमकोट – सिमकोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्याउ तथा ओखरका बिरुवा खरिद गरेर किसानलाई नै वितरण गरेको छ। किसानलाई बिरुवा उत्पादनमा हौसला बढाउन गाउँपालिकाले यो कार्य गरेको हो।
गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले १० हजार स्याउ र ओखरका बोटमध्ये सात हजार बिरुवा किसानबाटै कलमी गर्न लगाएर खरिद गरी किसानलाई नै वितरण गरिएको बताए।
उनले किसानको आम्दानी पनि हुने स्याउ तथा ओखरका बिरुवा उत्पादनमा गाउँपालिकाका किसानलाई आत्मनिर्भर बनाउन उक्त कार्य गरिएको बताए। जसमा ६ हजार स्याउका बिरुवा किसानबाट र बाँकी बिरुवा जिल्ला बाहिरबाट खरिद गरिएको थियो।
त्यसैगरी चार हजार बोट ओखरका बिरुवामा सबै किसानबाटै खरिद गरिएको थियो। खरिद गरिएका बिरुवा बिहीबारबाट किसानलाई वितरण गरिएको छ। कम्तीमा पनि दुुई रोपनी र बढीमा एक हेक्टर जमिनमा बिरुवा लगाउने किसानलाई मात्र ती बिरुवा दिइएको छ। यसका लागि ३० देखि तीन सय बोट बिरुवा किसानलाई दिने गरिएको छ।
किसानले स्याउमा प्रतिबोट १० रुपैयाँ लगानी गर्नुपर्ने छ भने ओखरमा १५ रुपैयाँ लगानी गर्नु पर्नेछ। यसका लागि शाखाले आठ लाख बजेट खर्च गरेको छ। यतिबेला स्याउ तथा ओखरका बिरुवा लगाउने समय हो। किसानले बिरुवा लगाउने समय भए पनि यस वर्ष हिमपात कम भएका कारण बिरुवा उमार्न भने कठिन हुने बताएका छन्।


