-प्रीति रमण
गत वैशाखमा स्थानीय तहको निर्वाचनमा मुलुककै प्रमुख पालिका काठमाडौं महानगरमा नयाँ पुस्ताका उम्मेदवार निर्वाचित भएपछि ठूलो हलचल मच्चियो । पुराना र स्थापित पार्टीका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तथा युवा बालेन्द्र शाहले निर्वाचन जितेपछि यसले राजनीतिक क्षेत्रमा नै उथलपुथल ल्याएको थियो । वर्षौंदेखि पुराना र केही औंलामा गन्न सकिने पार्टीको वर्चस्व रहँदै आएकोमा उनीहरुको सिन्डिकेटलाई तोड्न सफल भएका थिए बालेन । त्यसकारण उनी आमजनताको भरोसाको केन्द्र पनि बने ।
तर, कार्यकाल एक वर्ष पुग्नै लाग्दा उनीमाथि जुन भरोसा गरिएको थियो, त्यो गुम्दै गएको छ भने झन् विवादको घेरामा पर्दै आएका छन् । विशेषगरी बालेनले लिएका केही कदमहरु सकारात्मक भए पनि पूरा गर्न सकेनन् भने केही विवादमा परे । खासमा बालेनले महानगरवासीका वास्तविक समस्या के हुन् भनेर पहिचान नै गर्न सकेको देखिँदैन ।
मुलुकको राजधानी समेत रहेको काठमाडौं अव्यवस्थित बसोबास, फोहोर, खाल्डाखुल्डीयुक्त सडक र गैरजिम्मेवार प्रशासनिक सेवालगायत समस्याका कारण बदनाम छ । त्यसलाई समाधान गर्नुपर्नेमा बालेनले भने तत्काल सम्भव नभइहाल्ने र राज्यका अन्य निकायको पनि मुख्य सहयोग रहने ठाउँमा हात हाले । जस्तै, टुकुचा उत्खनन, थापाथलीको सुकुम्बासी बस्ती स्थानान्तरण । महानगरवासीको खास समस्यालाई सम्बोधन नगरी अन्यत्र नै बरालिँदा अहिले बालेन समस्यामा परेका छन् । उनले विगतमा जुन लोकप्रियता पाएका थिए, त्यो बिस्तारै खस्किँदै गएको छ । उनको विरुद्धमा विभिन्न क्षेत्रबाट भइरहेको प्रदर्शन र सामाजिक टीकाटिप्पणीले पनि उनले चालेका कदमहरुमा कहीँ न कतै त्रुटि छ भन्ने देखाउँछ ।
गत मंसिर १२ गते सोमबार काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिए । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन बस्ती गरेर हटाउन खोजेपछि स्थानीयहरु खुकुरी लगायतका हतियार नै लिएर प्रतिकारमा उत्रिएका थिए । बस्ती खाली गर्न १० दिने सूचना जारी गर्दा पनि बागमती किनारका बासिन्दाले हट्न मानेका थिएनन्। त्यसपछि उनीहरुलाई बलपूर्वक हटाउन डोजर चलाउन खोजियो । तर डोजरलाई भने स्थानीयबासीले वस्तीमा छिर्न दिएनन् ।
स्थानीयले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अवस्था तनावग्रस्त भयो । विरोध प्रदर्शनका क्रममा ३३ जना नगर प्रहरी घाइतेसमेत भएका थिए । घर–टहरा भत्काउँदा पुग्ने क्षति आकलन गर्दै कतिपयले आफ्ना घर–टहराबाट झिटीगुन्टा समेत निकालेका थिए । सुकुम्बासी बस्तीमा आन्दोलन भएसँगै राष्ट्रिय भूमि आयोगले मंसिर १६ गते सूचना प्रकाशित ग¥यो । तत्काल देशभरका भूमिहीन सुकुम्बासीलाई नहटाउन सूचना जारी गरिएको थियो । सुकुम्बासी बस्तीमा भएको विरोध प्रदर्शन भएपछि महानगरको चौतर्फी आलोचना भयो । भूमि आयोगको सूचनासँगै महानगर रोकियो । त्यसपछि भने काठमाडौं महानगरपालिकाका मेयर बालने सुकुम्बासीलाई हटाउन विभिन्न निकायमा सहयोग मागिराखेका छन् । कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्रीसमक्ष सहयोगको अपिल गरिरहेका छन् ।
तर, बालेन फोहोरको समस्यालाई भने दीर्घकालीन रुपमा समाधान गर्न चुकिरहेका छन् । उनले फोहोरको व्यवस्थापनका लागि वैकल्पिक उपाय अपनाउने जनाएका थिए । त्यसमा खासै काम हुन सकेको छैन । अर्कोतर्फ महानगरका खाल्डाखुल्डीयुक्त सडक पनि अन्य निकायको समन्यमा सुधार हुन सकेको छैन । महानगरमा सुविधासम्पन्न मात्र होइन, सर्वसाधारण वर्ग पनि छन् । उनीहरुलाई सडक पेटीबाट उठाए पनि रोजगारी गर्न पाउने क्षेत्रको ग्यारेन्टी गर्न सकेका छैनन् । मेयर बालेन गरिब र निमुखा वर्गलाई लखेटे मात्र सहर सुन्दर हुन्छ भन्ने मनस्थितिमा छन् । जबकि एउटा नेतृत्वको असलता आवश्यकता परेका जनतालाई कसरी सहयोग गर्छ भन्ने कामले नै चिनिन्छ । यस्तै, प्रशासनिक सेवा चुस्तता, अव्यवस्थित बसोबासको क्षेत्रमा सुधार, महानगरभित्र शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको लुटको समाधान जस्ता कदम पनि उनीबाट जनताले चाहेका छन् ।


