काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने जनाएका छन्।
आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन्। उनले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्ने गरी नीति, निर्माण गर्नुपर्ने जनाए ।
उनले प्राथमिक र आधारभुत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने जिकिर गरे। नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरूप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको औल्याए।
‘हामी नेपाललाई नै यस्तो देश बनाऔँ, जहाँ विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरू पठाउँछौँ, विदेशबाट पनि त्यही संख्यामा विद्यार्थीहरू नेपाल भित्र्याउने वातावरण बनाऔँ’, उनले भने, ‘नेपालको भौगोलिक बनावटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्नसक्छ। त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ।’ मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको जनाए।


