काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बोलाइएको छ ।
पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम हिजो शनिबार मध्यरातिबाट सकिएको छ ।
आफूले दिएको अल्टिमेटम सकिनु अघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमै पुगेर भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाव रहेको जनाएका थिए । नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय नै दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिंदै आएको छ ।
यसअघि रास्वपा सभापति लामिछानेले गृह नपाए सरकार छाड्ने चेतावनी दिए पनि उनको पार्टीका अन्य नेताहरुले भने मन्त्रालयकै कारण सरकार छाड्न नहुने अडान लिंदै आएका छन् ।


