काठमाडौँ- नारायणगढको पुल्चोकबाट शुक्रबार चितवनका किसानहरूले ‘किसान आन्दोलन’ घोषणा गरेका छन्।
भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै जिल्लाका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्। किसानहरुले गोलभेँडा, काउली, बन्दा, फर्सीलगायत तरकारी सडकमै फालेर सरकारलाई खबरदारी गरे।
उनीहरुले तरकारी सडकमै फालेर पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर सरकारबिरुद्ध प्रदर्शन गरेका थिए।
भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेकाले आन्दोलनमा उत्रिएको आन्दोलनकारी किसानहरुले बताएका छन्।
केही दिनअघिसम्म तरकारीले मूल्य पाएको तर भारतबाट ठूलो परिमाणमा तरकारी आएपछि स्थानीय उत्पादनले लागत मूल्य पनि पाउन नसकेको किसानहरुको गुनासो छ।
स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न माग गर्दै ठूलो संख्यामा किसानहरु जम्मा भएका थिए। उनीहरूले थप आन्दोलनका कार्यक्रमहरू ल्याउने बताएका छन्।



