काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी आफैँमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्य घटनाबारे प्रहरीमा उजुरी परेको छ । स्वागत नेपाल लगायतको टोलीले बिहीबार प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको हो । परिसरका प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दामा अनुसन्धान सुरु भइसकेको छ । “उजुरी बिहीबार परेको हो । अहिले प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । आत्महत्या दुरुत्साहनमा परेको छ,” एसपी मैनालीले भने ।
को–को विरुद्ध उजुरी पर्यो भन्नेबारे विस्तारै खुल्दै जाने प्रहरीले जनाएको छ । आचार्यले मंगलबार दिउँसो संसद् भवन अगाडी आफैमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । त्यसपछि प्रहरीले उद्दार गरी किर्तिपुरस्थित बर्न अस्पतालमा लगेको थियो ।
उपचारका क्रममा बुधबार अस्पतालमै मृत्यु भएको थियो । आत्मदाह गर्नुअघि व्यवसायमा असफल भएको कारण देखाउँदै सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट लेखेका थिए ।
आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।


