काठमाडौँ – नेपाली भूमिमा नेपाल सरकारका अधिकारी, ठेकेदार र प्राविधिकलाई काम गर्न भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी–१ स्थित भन्सार कार्यालयअगाडि सडकछेउमा बगिरहेको जिता नदीको कटानबाट सडकलाई जोगाउन जाली क्रेटिङ गर्ने कार्यलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनयर सञ्जयकुमार ठाकुरले जानकारी दिए । राजविराज–कुनौली सडकखण्डअन्तर्गत तिलाठी कोइलाडी–१ स्थित सडकलाई कटानबाट जोगाउन बनाइएको पर्खाल । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर राजविराजदेखि कुनौलीसम्म ११ किलोमिटरको उक्त सडक हाल निर्माणाधीन नै छ । उक्त सडकको दक्षिणतर्फ जिता नदी बगिरहेको र नदीको दक्षिणमा भारतीय भूमि रहेको छ । ‘राजविराज भन्सार कार्यालयको मुख्यद्वारभन्दा १० मिटरनजिकै सडक बनिरहेको छ,’ इन्जिनयर ठाकुरले भने,‘नदी कटानबाट सडक भासिन थालेपछि सडक छेउमा पर्खाल लगायौँ,पर्खालको तल जालीमा बोल्डर हालेर क्रेटिङ गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक्यो ।’ जाली बोल्डर क्रेटिङ गर्न नदिँदा सो स्थानमा निर्माण गरिएको सडक भासिन थालेको उनले बताए । सडक भासिँदा सडकमै ठूलो खाल्डो परेको छ । ‘पर्खाल तल बोल्डर जाली क्रेटिङ नगरेसम्म सडक जोगाउन कठिन छ,’ इन्जिनयर ठाकुरले भने,‘एक वर्षदेखि यो रोक्ने काम भारतीय पक्षवाट भइरहेको छ ।’ जाली लगाउन जाँदा भारतीय सुरक्षाकर्मीले रोक्ने गरेको उनी बताउँछन् । ‘हामी त्यहाँ जाली लगाउन जान्छौँ, भारतीय सुरक्षाकर्मी आएर रोक्छन्,’ उनले भने,‘यहाँ हामी काम हुन दिँदैनौँ,माथिको आदेश भन्दै भारतीय सुरक्षाकर्मी अवरोध गर्छन् ।’ भारतीय सुरक्षाकर्मीले काम गर्न रोक लगाएकोबारे सप्तरी प्रशासनलाई पहिले पनि जानकारी गराएको इन्जिनयर ठाकुरले बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने यसबारे जानकारी नभएको बताए । ‘राजविराज कुनौली सडक आज निर्माण गरिएको सडक होइन्,’ तिलाठीका स्थानीय बासिन्दासमेत रहेका सीमारक्षक देवनारायण यादवले भने,‘सडकलाई कटानबाट जोगाउन तारजाली लगाउने कार्य रोक्नु भारतीय जबरजस्ती हो ।’ ‘नेपाली भूमीमा काम गर्न पनि उनीहरूको अनुमति लिनुपर्ने ?,’ यादवले भने,‘यो त सरासर जबरजस्ती हो,सरकारले उच्च तहमा कुरा गरेर यो समस्या तत्काल समाधान गर्न पहलकदमी लिनुपर्छ ।’

