काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने तर्क गरे । वरिष्ठ नेता पौडेलले भने, ‘यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैबाट षडयन्त्र भइरहेको छ । यसलाई बचाउनका लागि सबै दलहरू एक ठाउँमा हुने कि नहुने रु यसलाई जोगाउनका लागि एक ठाउँमा हुने कि नहुने रु काँग्रेस र कम्युनिस्ट एक ठाउँमा मिल्ने कि नमिल्ने रु यी दुइटा ल्याएको यो व्यवस्था हो । त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ सभामुख महोदय । राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ । र, अराजकताबाट देशलाई बचाउनु छ सभामुख महोदय । लोकतन्त्र जकडिएको अवस्थामा छ सभामुख महोदय ।’
उनले थपे, ‘मैले फिल गरिरहेको छु–लोकतन्त्र जकडिएको अवस्था छ । अति दलबन्दीबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । पूर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । र, यो विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ सभामुख महोदय । र, यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने । यसको लागि पनि सहमतिको खोजी गर्नु पर्छ कि पर्दैन रु म यो प्रश्न गरिरहेको छु । र, हाम्रो सामाजिक, सांस्कृतिक स्खलन पनि डरलाग्दो छ । सामाजिक मूल्यहरूको स्खलन, सांस्कृतिक मूल्यहरूको स्खलन त्यो भइरहेको छ । यो पनि एउटा राष्ट्रिय सङ्कटको रूपमा छ । यो सङ्कटबाट मुक्त हुनका लागि एक हुने कि नहुने रु यो प्रश्न छ सभामुख महोदय ।’
नकारात्मक र निराशाका घण्टीहरू बजिरहेको बताउँदै यसलाई सकारात्मक दिशा दिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘त्यसका लागि एकताको आवश्यकता पर्छ कि पर्दैन रु यो पनि मेरो प्रश्न छ सभामुख महोदय । वास्तवमा मलाई भनौँ कि नभनौँ–नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ । राष्ट्रिय नेतृत्वको अभाव । र, राष्ट्रिय नेतृत्वको अभाव मात्रै होइन । राष्ट्रिय आत्मविश्वासको अभाव । यहाँ स–साना कुरामा पनि हामी त कहीँ गइहाल्यो नि भन्ने । आत्मविश्वास छैन । आफूप्रति विश्वास छैन । राष्ट्रिय आत्मविश्वासको पनि अभाव आज यो राष्ट्रिय सङ्कटको रूपमा देखिराखेको छु सभामुख महोदय ।’
‘यही सदनमा अस्तिसम्म मैले सुनिराख्छु भाषण । लक्ष्यदार भाषण १०र१५ मिनेट गएको गएकै छ । निशाना एकातिर हुन्छ त्यो भाषणको । लास्टमा गएर के भन्छ–भोटमा म यता हाल्छु । निशाना उत्तापट्टि छ । भोट चाहिँ मैले यता हाल्नु पर्छ । यो कुन विरोधभाषमा हामी बाँचेका छौँ । यस्तो विरोधाभासबाट हामीले मुलुकलाई जोगाउनुपर्नेछ । हामी आफैँ भित्रका विरोधाभाषहरुबाट हामी माथि उठ्ने कि नउठ्ने रु आज नेपालीले छातीमा हात राखेर, हाम आफै भित्रको विरोधाभासबाट माथि उठेर यो राष्ट्रलाई जोगाउने कि नजोगाउने रु यो राष्ट्रलाई एकताबद्ध गर्ने कि नगर्ने रु यो मुलुकमा राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गर्ने कि नगर्ने सभामुख महोदय । त्यसो भएको हुनाले म सभामुख महोदय, राष्ट्रिय सहमति गरौँ । राजनीतिक संस्कृतिको जगेर्ना गरौँ । र, सबैले मिलेर राष्ट्र निर्माण गरौँ । र, राष्ट्रलाई निर्माण गर्नमा, देशलाई बनाउनमा हामी एक ठाउँमा जुटौँ । र, आकाशबाट निराशाको कालो बादललाई फटाउनका लागि राष्ट्रिय सहमतिको आधारमा हामी अगाडि बढौँ,’ उनले भने ।