इस्लामावाद – पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ। यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्।
तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो। स्थानीय समयअनुसार सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा समस्या आएका कारण देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ।
एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको बन्दरगाह सहर कराँची र एक करोडभन्दा बढी जनसङ्ख्या भएको लाहोर विद्युतविहीन रहेको जनाइएको छ।
कमजोर अर्थतन्त्र, राम्रो प्रबन्ध मिलाउन नसक्नु र भण्डारण सुविधाको अभावजस्ता कारणले पाकिस्तान लामो समयदेखि ऊर्जा अभावबाट ग्रस्त छ।