काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्न सके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने जनाएका छन्। सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमइ क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे। उनले निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेकोमा जाेड दिए। वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रूपमा तरलताको समस्या समाधान हुँदै गइरहेको उनकाे धारणा छ।
अध्यक्ष ढकालले भने, ‘एसएमइ जहाँ धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि यसको विकास राम्रोसँग हुन सकेको छैन। एसएमइको विकासले एलडिसी ग्रेजुएसनमा सहयोग गर्नेछ। निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन। वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसाबमा काम भएको छ।
तरलता र इन्ट्रेस्ट घट्ने कुराहरू भनौँ सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रूपमा काम भइरहेको छ। मन्त्रीज्यूले निजी क्षेत्रलाई हेर्ने र सुधार गर्ने कामहरूलाई ध्यान दिनुहुनेछ। सरोकारवालाहरूको व्यावहारिक रूपमा नीति निर्माण गर्ने कुरामा हामी विश्वस्त छौँ।’ उनले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरू विश्वस्त रहेको पनि जनाए।