काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वस्वहरणसहित जेल चलान गर्न माग गरेका छन् ।
विश्वका विभिन्न मुलुकमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरूलाई पनि भ्रष्टाचारको काण्डमा सर्वस्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको उनको भनाइ थियो ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारबाही कहीँकतै नभएको भन्दै आपत्तिसमेत जनाए ।
प्रमुख सचेतक शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो अनुसन्धान मात्रै गर्ने गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।