चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा प्रेमिकासँग विवाह गरेका छन्। ‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिकी प्रेमिका डा. एन्का फौर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौँ,’ एल्ड्रिनले आफ्नो र ६३ वर्षीया फौरको तस्बिरसहित ट्वीट गरेका छन्। उनले भनेका छन्, ‘हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौँ। हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरूजत्तिकै उत्साहित छौँ।’ एल्ड्रिनको यसअघिका तीन विवाह सम्बन्धविच्छेदमा टुङ्गिएका थिए। एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुन्। उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए।