क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार हुनुअघि २४ दिन ‘केचप’ खाएर बाँचेको बताएका छन्। कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्रान्काेइसले अङ्ग्रेजी भाषामा बताएका छन्, ‘मसँग खाना पनि थिएन। डुङ्गामा केचपको बोतल, लसुनको धुलो र चाउचाउ थियो। चाउचाउ पहिलो एक दुई दिनमा नै सकियो। त्यसैले समुद्रमा २४ दिनसम्म बाँच्नका लागि मैले केचपलाई पानीमा मिसाएँ र आवश्यकता अनुसार पुर्याएर खाएँ।’
ला ग्वाजिराको उत्तरी विभागमा प्यूर्टो बोलिभरबाट १२० नटिकल माइल उत्तरपश्चिममा फेला पर्दा डुङ्गाको बाहिरी भागमा ‘सहयोग’ को लागि याचना गरी लेखिएको थियो। फ्रान्काेइसले आफूले अन्य डुङ्गाहरू त्यहाँबाट ओहोर दोहोर गरिरहेको देखेको र आफ्नो डुङ्गामा आगो बालेर सहयोगका लागि सङ्केत गरेको तर तिनीहरूले आफूलाई नदेखेको बताए। फ्रान्काेइसले डुब्नबाट जोगिन डुङ्गामा जम्मा भएको पानीलाई निरन्तर खाली गरिरहेका थिए। ‘अन्तिम दिन जनवरी १५ तिर मैले एउटा विमान देखेँ। मसँग एउटा ऐना थियो। म केही सङ्केतहरू पठाइरहेको थिएँ’, उनले भने। उनले सूर्य प्रकाशलाई परावर्तन गराएर जहाज र नजिकका डुङ्गामा पठाएपछि सहयोगका लागि कोही आएको बताए।
उनले थपे, ‘अन्तिममा उहाँहरू (उद्धार गर्ने व्यक्तिहरू) पछि डुङ्गाबाट दुई पटक ओहोरदोहोर गरे। उहाँहरूले मलाई देखेको मैले महसुस गरेँ। उहाँहरूकै कारण आज जीवित भएकोमा म उहाँहरूप्रति कृतज्ञ छु।’ प्राप्त जानकारी अनुसार विमानका चालक दलले नौसेनालाई उद्धारका लागि सूचना दिएका र त्यसपछि एक व्यापारिक जहाजको मद्दतले फ्रान्कोइसलाई उद्धार गरिएको थियो। फ्रान्काेइसले थपे, ‘२४ दिन कुनै जमिन छैन। कुरा गर्ने कोही छैन। के गर्ने थाहा छैन। आफू कहाँ छु त्याे पनि थाहा छैन। यो कठोर थियो। घरिघरि मैले आशा गुमाएँ। तर पनि मैले आफ्नो परिवारको बारेमा सोचेर आफूलाई सम्हालिरहेँ।’ नौसेनाले सार्वजनिक गरेको भिडियोमा एक जना चिकित्सकले फ्रान्कोइसको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ। गत वर्षको डिसेम्बरमा नेदरल्यान्ड्स एन्टिल्सको क्यारेबियन टापु सेन्ट मार्टेनमा रहेको एक बन्दरगाहबाट सेलबोट मर्मत गर्ने क्रममा मौसम खराब भएपछि उनलाई समुद्रमा बगाएको नौसेनाले जनाएको छ।
फ्रान्काेइसले आफ्नो सेल फोनमा कल गर्ने प्रयास गरे पनि टावरले नटिपेपछि निराश बनाएको थियो। सेनाका अनुसार उनलाई आफ्नो देश फर्कन समन्वय गर्न सजिलो होस् भनेर अध्यागमन अधिकारीहरूलाई सुम्पिएको छ।