काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधानको व्यवस्था व्यवहारिक कार्यान्वयन नगर्ने हो भने त्यो कार्यान्वयन गर्नका लागि होइन भनेर घोषणा गर्न प्रस्ताव गरेका छन् । उनले संसद्मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको बताए ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै नेता चौधरीले भने, ‘संविधानलाई नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्मा महत्त्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’
नेता चौधरीले संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको उपसभामुखमा सांसद मुक्ताकुमारी यादव उपयुक्त हुने बताए । ‘हाम्रो संविधानले भुगोल, जाति, लिङ्ग र वर्ग क्षेत्रको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । त्यसअनुसार हो भने झापाबाट सभामुख निर्वाचित हुँदा उपसभामुखका लागि मुक्ताकुमारी यादव योग्य हुनुहुन्छ । म उहाँलाई संविधानको व्यवस्थाबमोजिम यो सदनको उपसभामुखमा निर्वाचित गर्न आव्हान गर्दछु,’ चौधरीले अघि भने, ‘यदि होइन भने हामी नेपालको संविधानको व्यवस्था देखाउनकालागि हो, भन्नका लागि हो, कार्यान्वयन गर्नकालागि होइन भनेर घोषणा गरौँ ।’
उनले सेटिङमा देश चलाउन चाहनेहरू सधैँ शक्तिशाली हुँदा संविधान र कानुनको शासन ओझेलमा परेको बताए ।