काठमाडाैं । आगोमा जलेका राउटे युवा शाहीको मृत्यु दैलेख : आगलागीमा परेर घाइते भएका राउटे सदस्य नारायण शाहीको निधन भएको छ। गत पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा ४० वर्षीय शाही जलेका थिए।
उपचारका लागि काठमाडौं लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गएराति मृत्यु भएको हो। दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो।
अस्पतालले बिदा दिएको एक घण्टापछि एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका ९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिए। उनको शव अहिले कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ। चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी शाही जलेका थिए। कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्कमा बसोबास गरिरहेका छन्। हाल उनिहरुको जनसंख्या एक सय ४३ छ।