झापा। प्रतिनिधि सभामा झापाको क्षेत्र नं २ बाट निर्वाचित सांसद देवराज घिमिरे नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका प्रदेश नम्बर १ का पार्टी इञ्चार्ज पनि हुन्।
पार्टीमा उनी एक इमान्दार नेताका रुपमा चिनिन्छन्। पार्टीभित्र पटक-पटक धेरै नेताले उच्च ओहोदामा बस्न मौका पाए पनि उनी लामो समय पार्टी संगठन निर्माणमै लागे। अन्ततः यस पटक पार्टीले उनलाई झापा २ मा प्रत्यक्ष चुनाव लड्न टिकट दियो।
उनी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत)लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
ताप्लेजुङ जिल्ला साविक सिकैचा ६ हाल श्रीजंघा ३ मा बुवा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तानमध्ये माइला छोराको रुपमा २०१३ साल जेठ १३ गते उनको जन्म भएको हो।
गाउँकै सिंहदेवी प्राविबाट अध्ययन शुरु गरेका उनले भानु पब्लिक हाइ स्कुल, धरानको महेन्द्र बहुमुखी क्याम्पस हुँदै त्रिचन्द्र क्याम्पसमा स्नातकसम्म अध्ययन गरेका छन्।
अध्ययनसँगै कम्युनिष्ट आन्दोलनले उनलाई प्रभावमा पारिरहेकै थियो। २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि २०३२ मा कोके (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी)को गठन भएपछि विद्यार्थी संगठनमार्फत उनी वामपन्थी राजनीतिमा होमिएका हुन्।
२०३३ सालमा गाउँगाउँमा पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय उनले २०३५ सालमा कोकेको सदस्यता प्राप्त गरे।
२०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका उनी २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।
२०५० सालदेखि मेची अञ्चलको इञ्चार्जको जिम्मेवारी पाएका घिमिरेले पाएका थिए। उनी २०५६ सालमा राष्ट्रिय सभा सदस्य थिए। २०७९ सालको प्रतिनिधि सभाको निर्वाचन लड्न उनले पहिलो पटक पार्टीबाट टिकट पाएका हुन्।