काठमाडौँ– पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको यो निर्णयको सामाजिक सञ्जालमा भने विरोध भएको छ ।
सरकारले शोक मनाउन भन्दै दिएको सार्वजनिक बिदालाई लिएर विभिन्न क्षेत्रका मानिसहरूले आपत्ति जनाएका छन् । ठुलो दुर्घटना हुनु र ठुलो संख्यामा मानिसको मृत्यु हुनु दुःखद भए पनि शोक मनाउनलाई सार्वजनिक बिदा नै दिनुपर्छ भन्ने मान्यता गलत रहेको बिदाको विपक्षमा रहेकाहरूले तर्क गरेका छन् ।
मुटु सर्जन वरिष्ठ चिकित्सक डा. रामेश कोइराला सामाजिक सञ्जाल ट्वीटरमा लेख्छ्न्– ‘ए प्रचण्डजी ! हवाई दुर्घटनामा शोक त सही हो कि बिदा, त अलिक अचाक्ली भएन र ? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो ? हैन भने यो के हो ? किन हो ? भोलि सातवटा मुटुका अपरेसन क्यान्सिल गर्नु पर्छ । भएन सर, पटक्कै भएन ।’
यस्तै, बैंकर परशुराम कुँवर पनि सार्वजनिक बिदा दिनु उपयुक्त नभएको धारणा राख्छन् । ट्वीटरमै कुँवर लेख्छन्– ‘सरकार, जे कुरामा पनि बिदा दिनुपर्छ ? राष्ट्रिय शोक मात्र मनाए हुँदैन ?
प्राध्यापक डा. अच्युत वाग्लेले पनि सार्वजनिक बिदाप्रति असहमति जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘दुर्घटना भएपछि उद्धार राहतमा पो ध्यान दिने हो । शोकमा परेकालाई सघाउने हो । के के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ ? बिदाको विरोध गर्दा असंवेदशील भएको आरोप लग्ला । सार्वजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो ।’
यस्तै, पत्रकार नारायण अमृतले पनि सार्वजनिक बिदा दिने सरकारी निर्णयको विरोध गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्–‘सबै दुर्घटनाहरू दुखद् हुन् । हवाइ होस् या सडक होस् । दुर्घटनामा गुम्ने ज्यानहरू समान हुन् । राज्यले दुर्घटनाको कारण पहिल्याउने हो । दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने हो । सुरक्षित आकाश र सडकको प्रत्याभूति दिलाउने हो । तर विदा दिएर के सन्देश दिन खोजिएको हो, बुझिएन ।’
पत्रकार अमृता लम्सालले पनि सार्वजनिक विदा दिने सरकारी निर्णयको विरोध गरेकी छन् । उनले ट्वीटरमा लेखेकी छन्–‘आज पनि अस्पताल आधा छुट्टी, भोलि पनि ? मृतकको परिवारलाई छुट्टीले सान्त्वना दिन्छ कि, शव पहिचान गर्न सक्दो छिटो पोस्टमार्टम र अन्य सहयोगले ? शोकको यो घडीमा उहाँहरूलाई सकेको सहयोग गर्नुपर्ने होइन र ?