काठमाडौं – लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिने भएको छ। माघेसंक्रान्ति र माघी पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
अघिल्लो सरकारकाे २०७८ चैत २१ बसेकाे मन्त्रिपरिषदकाे बैठकले माघ २ गते बिदा दिने निर्णय गरेकाे थियाे।
प्रदेश सरकारले माघ महोत्सव मनाउने भएको छ। आगामी माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी माघ महोत्सव मनाउन लागिएको हो।
माघ महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरूलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरूप पुरस्कृतसमेत गर्ने गरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए।
माघ उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा दुईवटा थारु झाँकी, २ वटा मगर झाँकी र १-१ वटा गुरुङ र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुति गर्ने टोलीलाई प्रतिटोली २० हजार रकम यातायात खर्चवापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको छ।