काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका अधिकारकर्मीहरुलाई शनिबार भेट्न गएर उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्। यसअघिका सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको भन्दै लामिछानेले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्।
‘मलाई एक पटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरुलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईंहरुले भन्नुभएको कुरामा हामी क्रमबद्ध रुपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छु मलाई समय दिनुहोस्,’ गृहमन्त्री लामिछानेले भने।
धर्नामा बसेकी अधिकारकर्मी रुवी खानले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र गृहमन्त्री रवि लामिछानेले धोका नदिने विश्वास व्यक्त गरिन्। न्याय नपाएसम्म धर्ना बसिरहने खानको भनाइ छ। कुर्मी र धोबीको न्यायको निम्ति उनीहरुले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्। माइतीघर मण्डलामा हाल उनीहरुले तेस्रो चरणका रुपमा आन्दोलन गरिरहेका हुन्।
बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिइएको उनीहरुको आरोप छ। अधिकारकर्मी रुवी खान नेतृत्वको समूहले ४ बुँदे मागसहित धर्ना दिइरहेका छन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीहरुको माग छ।
उक्त घटनाको सम्बन्धमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको अधिकारकर्मीहरुको आरोप छ। निर्मला कुर्मीको जग्गा कब्जा गर्नका लागि उनको हत्या गरिएको प्रदर्शनकारीहरुको आरोप छ। उक्त प्रकरणको छानविनका लागि सरकारले समितिसमेत गठन गरेको थियो।
निर्मला कुर्मीका श्रीमान्को २०६२ शालमा निधन भएको थियो। त्यसपछि दुई छोराहरुसँग बस्दै आएकी निर्मलाको २०६६ सालमा दुवै छोराको १० दिनको अन्तरालमै शंकास्पद निधन भएको थियो। त्यसपछि २०६९ मा विभिन्न व्यक्तिले निर्मलाको नाममा रहेको १० कठ्ठा जग्गा अन्यले नै नामसारी गरेको पाइएको थियो।
यस्तै नकुन्नी धोबी बाँकेमा घरेलु हिंसाबाट मारिएकी हुन्।