काठमाडौँ– वामपन्थी नेता घनश्याम भुसालले आफू नेकपा एमालेमा सकुञ्जेल लडेको बताएका छन्।
शुक्रबार एकीकृत समाजवादी (नेकपा एस) प्रवेश गरेपछि प्रतिक्रिया दिँदै उनले एमालेमा सकुञ्जेल लडेपछि अब अर्को मोर्चाबाट वामपन्थी आन्दोलन अघि बढाउन नेकपा एसमा प्रवेश गरेको बताए।
नेकपा विभाजित हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसे पनि पार्टीभित्र एउटा विपक्षीको रुपमा सकुञ्जेल लडेर अन्ततः पार्टी परित्याग गरेको बताए।
वामपन्थी आन्दोलनका तीन मुख्य धार नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसमध्ये नेकपा एसको मोर्चामा बसेर आन्दोलन अघि बढाउने उनको भनाइ छ। पार्टीमा अहिले सदस्यको रुपमा प्रवेश गरेर र आवश्यकताको आधारमा पार्टीको जिम्मेवारीमा रहने भुसालको भनाइ छ।
देशसञ्चारसँग कुरा गर्दै भुसालले भने,‘१० बुँदे सहमतिको आधारमा पार्टीमै बसेर सकुन्जेल लडेपछि नेकपा एसमा प्रवेश गरेको हुँ। अब नेकपा एसकै मोर्चाबाट आन्दोलन अघि बढाउँछु’
भुसाल नयाँ बानेश्वरस्थित एक होटलमा शुक्रबार आयोजित कार्यक्रममा नेकपा एसमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए।
पार्टी प्रवेश गरेपछिको सम्बोधनमा भुसालले आफूले १० वर्षमा एक नेतृत्वदायी समाजवादी पार्टी बनाउने घोषणा गरेका छन्। उनले त्यस्तो समाजवादी पार्टीमा कसैको विशेषाधिकार नहुने पनि उल्लेख गरे।