ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई फिर्ता पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि उनका पार्टी सदस्यले दवाव दिइरहेका छन्।
डेमोक्र्याट नेता जोकिन क्यास्ट्रोले सिएनएनलाई भने, ‘बोल्सोनारो फ्लोरिडामा हुनुहुँदैन। ब्राजिलमा आतंकवादलाई उक्साउने यो तानाशाहको लागि अमेरिका आश्रयस्थान बन्नु हुँदैन। उनलाई ब्राजिलको जेलमा फिर्ता पठाइनुपर्छ।’
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सोमबार अमेरिकाले बोल्सोनारोको भिसाको सम्बन्धमा ब्राजिल सरकारबाट कुनै ‘औपचारिक अनुरोध’ प्राप्त नगरेकाे जनाएका थिए।
आइतबार ब्राजिलमा बोल्सोनारोका हजारौँ समर्थक संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रवेश गरी हड्ताल र तोडफोड गरेका थिए। त्यसयता अहिलेसम्म करिब १५ सय जना पक्राउ परेका छन्।
बोल्सोनारो अस्पतालमा भर्ना भए
यसैबीच ब्राजिलका पूर्व राष्ट्रपति जाएर बोल्सोनारो पेट दुखाइका कारण फ्लोरिडाको अस्पतालमा भर्ना भएका छन्। बोल्सोनारोकी श्रीमतीले यो जानकारी दिएकी हुन्।
रिपोर्टका अनुसार बोल्सोनारोलाई सोमबार ओर्लान्डो नजिकको अस्पतालमा लगिएको थियो।
बोल्सोनारो १० दिनअघि ब्राजिलबाट अमेरिका आएका थिए। उनी नयाँ राष्ट्रपति लुला दा सिल्भालाई सत्ता हस्तान्तरणको लागि आयोजना गरेको समारोहमा समेत सहभागी भएका थिए।