हेटौंडा । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने भएको छ। सोमबार बसेको समाजवादीको संसदीय दलको बैठकले माओवादीको नेतृत्वमा बन्ने प्रदेश सरकारलाई समर्थन गर्ने भएको हो।
माओवादीबाट संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्दै छन्। प्रदेशसभा सचिवालयस्थित संसदीय दलमा बसेको बैठकले केन्द्रीय निर्देशनअनुसार जम्मकट्टेललाई समर्थन गर्ने निर्णय गरेको समाजवादीका प्रदेशसभा सदस्य कृष्ण शर्मा खनालले जानकारी दिए।
सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच आइतबार भएको बैठकले बागमती प्रदेशमा आलोपालोमा हुने सरकारको नेतृत्व माओवादीले गर्ने निर्णय भएको थियो।
‘सरकारमा सहभागी हुने विषयमा निर्णय भएको छैन। तर, हाम्रो समर्थन रहन्छ,’ उनले भने।
प्रदेशसभामा नेकपा (एस) को ७ सांसद रहेको छ। जम्मकट्टेलले आज नेकपा एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्री पदमा दावी पेश गर्दैछन्। ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेको २७,माओवादीको २१ र राप्रपाको १३ सांसद छन्।
जम्मकट्टेलले दिउँसो ३ बजे मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुख यादबचन्द्र शर्मा समक्ष दावी पेश गर्नेछन्। जम्मकट्टेललाई २ सदस्यीय हाम्रो नेपाली पार्टीले पनि समर्थन गर्ने एमाले एक सांसदले जानकारी दिए।


