काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादवले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै यादवले लामो समयदेखि अड्किएको विधेयक चाँडै पारित गरिनुपर्ने बताएका हुन् । ‘यसअघि दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिको कार्यालयबाट विधेयक अड्किएको छ,’ उनले भने,’नेपाली नागरिकका सन्तान अन्यायमा परेका छन् । नागरिकता विधेयक पारित गरेर नागरिक बनाउने काम गरौं । ‘ उनले नेपालको संविधान ०७२मा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता लगायत राम्रा पक्ष भए पनि देशका अधिकांश समुदायको भावनालाई सम्बोधन नगरेको बताए ।
‘ती उपलब्धीलाई संस्थगत र कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी छ । विगतमा संघीयता कार्यान्वयन गर्न विभिन्न सरकारले नीति तथा कार्यक्रममा राखे तर कार्यान्वयन पक्ष फितलो छ,’ उनले भने । संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संघीयताको कार्यान्वयन गर्ने कुरामा सरकार चुकेको उनको भनाइ थियो । ‘प्रदेशलाई अझै आर्थिक र वित्तीय प्रणाली हस्तान्तरण भएको छैन,’ उनले भने,’प्रदेशलाई कमजोर बनउने काम भइरहेकको छ । केन्द्रीकृत सरकार फर्काउने तयारी भइरहेको छ ।
संघीयताको मूल मर्म र मान्यता अनुरुप प्रदेशमा प्रदेश सरकारको एक जना हवल्दार र प्रहरी पनि निर्देशनमा छैन । कर्मचारी पनि छैन ।’ बैठकमा बोल्दै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग गरेका थिए ।

