काठमाडाैं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार बिहान भएको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले सुखद सुरुआत गरेको हो । पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो तथा तेस्रो सेट क्रमशः २५–६ तथा २५–८ ले जितेको हो ।
पहिलो खेलमा जित निकालेको पुलिसले ३ अंक जोड्दा नयाँबजारले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिता अन्तर्गत नै आइतबार महिला तर्फ एक तथा पुरुष तर्फ दुई खेल हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब रहदा समूह ुबीु मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लब परेका छन् । यस्तै, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश रहदा समूह ‘डी’ मा टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश रहेका छन् ।
महिलातर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।


