सुर्खेत। सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सुर्खेतमा पनि अवैध क्रसर उद्योग बन्द गरिने भएका छन्। कानुन विपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गरिने भएका हुन्।
गृह मन्त्रालयले प्रचलित कानुनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएपछि सुुर्खेत जिल्ला भित्र सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी बालुवा उत्खनन तथा प्रशोधनका कार्यमा संलग्न भएका क्रसर उद्योग बन्द गरिने भएका हुन्।
प्रचलित कानुन र मापदण्ड बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूले सम्बन्धित कागजातहरू कार्यालयमा पेस गरेर नियम अनुसार सञ्चालन हुने तर, कानुन विपरीतका क्रसर उद्योगहरू बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
‘जिल्ला प्रशासन कार्यालयको निर्देशन विपरीत क्रसर उद्योग सञ्चालन गरे कडाभन्दा कडा कारबाही गरिनेछ’ उनले भने, ‘जिल्लामा अवैध क्रसर उद्योग सञ्चालनमा पूर्ण रूपमा रोक लगाइनेछ।’