काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन्। शुक्रबार साँझ फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै उनले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताएका छन्।
‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन,’ उनले भने, ‘हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन्।’
गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा लागेको उनले जानकारी दिएका छन् ।
मन्त्री लामिछानेले कामको तारिफ गर्न कन्जुस्याईं गरे पनि खबरदारी भने दिल खोलेर गर्न आग्रह गरेका छन् ।
उनले फेसबुक स्टाटसमा लेखेका छन्,‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँबाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ।’


