कतार विश्वकप सकिएको छ। तर कतार विश्वकपमा भएका गतिविधिलाई लिएर टिप्पणी आउने क्रम भने राेकिएको छैन।
कतार विश्वकपमा अनेकन कारण चर्चामा रहेका पोर्चुगिज फरवाड क्रिस्टियानो रोनाल्डोलाई नकआउट चरणमा सुरुवाती ११ मा नराख्नुको पछाडि ‘राजनीतिक प्रतिबन्ध’ भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दावी गरेका छन्।
उनले विश्वकपमा रोनाल्डोलाई ‘राजनीतिक प्रतिबन्ध’ को सिकार बनाइएको बताए।
एर्दोगानले भने, ‘तिनीहरूले रोनाल्डोलाई बर्बाद गरे। दुर्भाग्य उनीहरूले रोनाल्डोमाथि राजनीतिक प्रतिबन्ध लगाए’, एक सम्मेलनपछि एनडौउला एजेन्सीसँग उनले भने, ‘रोनाल्डोजस्तो फुटबलरलाई ३० मिनेट बाँकी रहँदा मैदानमा पठाउँदै उनको मनोविज्ञानलाई क्षतविक्षत बनाइयो, उनको शक्तिलाई बर्बाद बनाइयो।’
‘रोनाल्डोमात्र यस्तो खेलाडी हो जसले प्यालेस्टाइनको समर्थन गर्थे’, उनले थपे।
उनको यो समर्थन नै राजनीतिक प्रतिबन्ध गर्न उनलाई पर्याप्त भएको एर्दोगानको दावी छ।
रोनाल्डोले भने टिम बाहिरिएपछि आइतबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै देशका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताएका थिए।
उनले अनेकन अनुमान, हल्ला र विवाद गरिएको भन्दै यी सबै कुराको आफूलाई प्रभाव नभएको र आफू देशप्रति प्रतिबद्ध भएको बताएका थिए।


