भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगिताको लगातार तेस्रो जितसँगै धनगढी क्रिकेट एकेडेमी (डीसीए) फाइनलमा प्रवेश गरेको छ । डीसीएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । यसअघि डीसीएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो । देवदहसँग टस जितेर पहिले ब्याटिङ गरेको डीसीएले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा देवदहले १३.३ ओभरमा सबै विकेट गुमाएर २३ रन मात्रै बनाउन सक्यो ।
देवदहका सर्वोत्तम सुनारले ८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । डीसीएका सौर्य श्रेष्ठले ७ विकेट लिए । उनले ६.१ ओभरमा १ ओभर मेडन राख्दै १० रन मात्रै खर्चिएर उत्कृष्ट बलिङ गरेका थिए । यस्तै, निरज ऐरले २ विकेट लिए । उनले ७ ओभरमा २ ओभर मेडन राख्दै १२ रन मात्रै खर्चिएका थिए । त्यसअघि डीसीएका निशान रेग्मीले ११३ रनको शतकीय पारी खेलेका थिए । उनले १०१ बलमा उक्त पारी खेलेका हुन् । त्यसबाहेक अजय कडालले ६३ रन जोडे ।
खेलको म्यान अफ द म्याच डीसीएका निशान रेग्मी भए । यस्तै ७ विकेट लिएका सौर्य श्रेष्ठले म्याच बल पाए । पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीले भैरहवामा प्रतियोगिता आयोजना गरेको हो ।


