काठमाडौं । काठमाडौं महानगरपालिका अस्तव्यस्त भएको छ । यतिबेला महानगरका मेयर बालेन्द्र शाह बिदामा बसेको र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मा पौडेल र कानुनी सल्लाहकार शेखरकुमार पौडेलले राजीनामा दिएका छन् ।
निमित्त प्रशासकीय अधिकृत शर्माले आफ्नो कार्यकाल सकिन लागेको र प्रशासनिक कामको तनाव नलिने भन्दै राजीनामा दिएको जनाइएको छ ।
निमित्त प्रशासकीय अधिकृत शर्मा शिक्षा विभागका प्रमुखसमेत हुन् । उनको राजीनामा भने स्वीकृत भएको छैन ।
निमित्त प्रशासकीय अधिकृत शर्माले राजीनामा दिएपछि प्रशासनिक काम रोकिएको छ ।
शर्मालाई ९ पुसदेखि निमित्त तोकिएको थियो भने काठमाडौं भ्यु टावरको कानुनविपरीत नक्सापास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कारबाहीमा परेका थिए ।
उनीमाथि छानबिन गर्न गठन गरिएको छानबिन समितिका संयोजकसमेत रहेका महानगरका कानुनी सल्लाहकार शेखरकुमार पौडेलले राजीनामा दिएका छन् ।


